यस बारे वेयन ग्रुडेमको परिभाषा उत्कृष्ट छः “परमेश्वर अनन्तदेखि तीन व्यक्तिहरु पिता, पुत्र र पवित्रआत्मा को रुपमा अस्तित्वमा हुनुहुन्छ र प्रत्येक व्यक्ति पूर्ण रुपमा परमेश्वर हुनुहुन्छ, र परमेश्वर एउटै हुनुहुन्छ ।“ यसको अर्थ हो कि, परमेश्वर सारमा एक हुनुहुन्छ । चौथो शताब्दीका ईश्वरशास्त्रीहरुले पवित्रशास्त्रको आधारमा पुत्र र पवित्र आत्मा पनि पितासँगै एउटै सार हुनुहुन्छ भन्ने भन्ने तर्क गरेका थिए । त्यसैले, परमेश्वर भन्नाले एउटै अस्तित्वलाई जनाउँछ । धर्मशास्त्रले यो कुरालाई निरन्तर पुष्टि गर्छ । व्यवस्था ६ः४ ले भन्दछ् “परमप्रभु हाम्रा परमेश्वर एउटै परमप्रभु हुनुहुन्छ ।“ यशैया ४५ः ५ मा भन्छ, “म परमप्रभु हुँ, अनि मबाहेक अरु कोही छैन ।“ र २१ मा पनि “मबाहेक अरु कोही छैन“ भनि उल्लेख गरेको छ ।
तर परमेश्वर तीन फरक “व्यक्तिहरु“ को एकता हुनुहुन्छ । पिता परमेश्वर हुनुहुन्छ, पुत्र परमेश्वर हुनुहुन्छ र पवित्र आत्मा परमेश्वर हुनुहुन्छ । तर पिता पुत्र हुनुहुन्न, पुत्र आत्मा हुनुहुन्न, र आत्मा न त पिता न पुत्र हुनुहुन्छ । यी प्रत्येक व्यक्तिले उद्धारको कार्यमा आआफ्नो विशिष्ट भूमिका खेल्नुहुन्छ । १५६१ को बेल्जियन स्किारोक्तिमा यसरी भनिएको छ ः “पिता सबै दृश्य र अदृश्य चिजहरुको कारण, स्रोत र उत्पत्ति हुनुहुन्छ । पुत्र पिताको वचन, बुद्धि र प्रतिरुप हुनुहुन्छ । पवित्र आत्मा पिता र पुक्रबाट निस्किने अनन्त शत्ति र सार्मथ्य हुनुहुन्छ । यद्यपि, यो भिन्नताले परमेश्वरलाई तीन भागमा विभाजित गर्दैन, किनकि पवित्रशास्त्रले हामीलाई सिकाउछ कि पिता, पुत्र र पवित्र आत्मा प्रत्येकसँग आ–आफ्नो पहिचान छ (यसले व्यक्तिलाई जनाउँछ) तर यी तिनैजना मिलेर एकै परमेश्वर हुनुहुन्छ । यी व्यक्तिहरु भिन्न भिन्दै भएता पनि न त विभाजित हुन्छन्, नत एक मिलाइएको वा मिश्रित हुन्छन् ।“
त्यसैले त्रिएक परमेश्वरका तीन व्यक्तिहरु अनन्तदेखि नै फरक–फरक छन् । यी केवल विभिन्न इतिहासिक चरणमा परमेश्वरले अपनाउनु भएका गुण वा अवस्थाहरु होइनन् । उनीहरु अनन्तदेखि नै एक परमेश्वरको रुपमा पूर्ण प्रेम, एकता र आनन्दमा अस्तित्वमा रहँदै आएका छन् ।
धेरै परिभाषाको बावजुद; के यो साँचो हो ? प्रश्न ख, पवित्रशास्त्रले त्रिएकताको सिद्धान्त कसरी सिकाउँछ ?
राम्रो प्रश्न ! तपाईले “त्रिएक“ भन्ने शब्द पवित्रशास्त्र बाइबलमा कहीँ पनि भेटाउनुहुने छैन । यो शब्द वास्तवमा प्रेरितहरुको पुस्ता पछि टर्टुलियनद्धारा पहिलो पटक प्रयोग गरेका हुन् । तर यो एउटा उपयोगी शब्द हो । यसले परमेश्वरको त्रिएकत्वसँग सम्बन्धित सबै धर्मशास्त्रिय शिक्षाहरुलाई संक्षेपमा प्रस्तुत गर्दछ । बाइबलले स्पष्ट रुपमा सिकाउँछ कि केवल एकमात्र परमेश्वर हुनुहुन्छ, जुन मैले पहिला उल्लेख गरेका पदहरुमा अघि नै देखिसकेका छौं । तर यसले यो पनि सिकाउँछ कि पिता परमेश्वर हुनुहुन्छ, पुत्र परमेश्वर हुनुहुन्छ र आत्मा परमेश्वर हुनुहुन्छ । पिता परमेश्वर हुनुहुन्छ भन्ने कुरामा त कुनै विवाद पनि छैनः किनकि येशू स्वयले प्रार्थना गर्नुभयो “हे हाम्रा पिता, जो स्वर्गमा हुनुहुन्छ, तपाईको नाउँ पवित्र होस् ।“
तर धर्मशास्त्रले यो पनि सिकाउँछ कि पुत्र र आत्मा पनि परमेश्वर हुनुहुन्छ । यी सबै पदहरु हामीले आगामी हप्ताहरुमा ख्रीष्टको व्यक्तित्व र पवित्र आत्माको व्यक्तित्व अध्यायन गर्दा विस्तारमा हेर्नेछौँ । तर अहिले छोटो झलक मात्रः येशू परमेश्वरको वचन हुनुहुन्छ जो युहन्ना १ः१–४ अनुसार “वचन परमेश्वर हुनुहुन्छ,“ जसलाई यशैया ९ः६ अनुसार “शक्तिशाली परमेश्वर“ भनिएको छ, र जसलाई “हाम्रो महान परमेश्वर र उद्धारकर्ता येशू ख्रीष्ट भनिएको छ ।“ तीतस २ः१३, पुत्रले पापहरु क्षमा गर्नुहुन्छ र आराधना स्वीकार गर्नुहुन्छ, जुन कार्य परमेश्वरले मात्र गर्न सक्नुहुन्छ । अर्कोतर्फ, भजनसंग्रह १३९ अनुसार पवित्र आत्मा सबै ठाउँमा हुनुहुन्छ, १ कोरन्थी २ अनुसार परमेश्वरका विचारहरु बु‰नुहुन्छ र प्रकट गर्नुहुन्छ, उत्पत्ति १ र युहन्ना ३ अनुसार जीवन र नयाँ जीवन सिर्जना गर्नुहुन्छ र धर्मशास्त्रमा यस्ता कुराहरु केवल परमेश्वरको लागि सत्य छन् ।
अन्तमा, केहि महत्वपूर्ण प्रमुख खण्डहरु छन् जहाँ त्रिएक परमेश्वरका तीन व्यक्तिहरुलाई सँगै एकसाथ उल्लेख गरिएको छ र एक अर्काबाट पृथक भएको देख्छौं ।
मत्ती ३ः १६ मा जब येशू बप्तिस्मा लिनुभयो, उहाँ तुरुन्तै पानीबाट माथि निस्कनुभयो, अनि स्वर्ग उघ्रियो र उहाँले परमेश्वरका आत्मालाई ढुकुरझैं ओर्लिरहनुभएको र आफूमाथि देख्नुभयो । १७ पदमा स्वर्गबाट आएको वाणीले यसो भन्यो “यिनी मेरा प्रिय पुत्र हुन, यिनीसँग म अति प्रसन्न छु ।“
यहाँ परमेश्वरको तीन व्यक्तिहरुले आ–आफ्नै फरक–फरक भूमिका खेलिरहेको छ । परमेश्वर पिता स्वर्गबाट बोल्नुहुन्छ, परमेश्वर पुत्र बप्तिस्मा लिँदै पिताको इच्छा पुरा गर्नुहुन्छ, र परमेश्वर आत्माले पुत्रलाई सेवाकाईमा सशक्त बनाउनको लागि अभिषेक गर्नुहुन्छ ।
मत्ति २८ः १९ पनि विचार गर्नुहोस् – येशूले भन्नुभयो “यसकारण जाओ, र सबै देशका जातिहरुलाई चेला बनाओ, पिता र पुत्र र पवित्र आत्माको नाउँमा तिनीहरुलाई बप्तिस्मा देओ ।“ ध्यान दिनुहोस् कि चेलाहरुले नयाँ विश्वासीहरुलाई बप्तिस्मा दिँदा मानौ कि नयाँ तीन फरक मानिसहरुसँग व्यवहार गरे जस्तै गरी पिता, पुत्र, र पवित्र आत्माका “नामहरु“ मा बप्तिस्मा दिनु भन्नुभएन, तर एकवचन “नाम“ मा दिन भन्नुभयो जसले यहि नै देखाउँछ कि उनीहरु एकै परमेश्वर हुन् ।
बाइबलमा त्रिएकताको बारेमा हेर्नको लागि सायद सबैभन्दा अदभूत खण्ड भनेको युहन्ना १४–१७ हो । अध्याय १७ मुख्य खण्ड हो, जहाँ हामी सृष्टिको उत्पतिभन्दा पहिलेदेखि नै त्रिएक परमेश्वरभित्र रहेको प्रेम देख्न सकिन्छः येशूले पद २४ मा प्रार्थना गर्नुहुन्छ, “पिता, म इच्छा गर्दछु, कि तपाईले मलाई दिनुभएकोहरु म जहाँ छु मसँग रहुन, र मेरो महिमा देखुन, जुन महिमा, संसारको सृष्टि हुन अघिदेखि नै मलाई प्रेम गर्नुभएको हुनाले तपाईले मलाई दिनुभएको थियो ।“
त्यसकारण, त्रिएकताको सिद्धान्त एक बाइबलिय शिक्षा हो । यो मानिस आफैंले कल्पना गरेर बनाएको विचार होइन, न त प्रकृतिमा यसको कुनै ठ्याक्कै मिल्ने उदाहरण छ । तपाईंले सुन्नु भएका पानीका तीन रूप, वा अण्डाका तीन भाग जस्ता सामान्य उदाहरणहरू अन्ततः काम लाग्दैनन् वा मेल खादैनन् । किनकि तिनीहरूले त्रिएक परमेश्वरको वास्तविकता बुझाउन सक्दैनन् । त्रिएकता हाम्रो पूर्ण बु‰ने क्षमता भन्दा माथि छ, तर पनि बाइबलमा स्पष्ट रूपमा प्रकट गरिएको कुरा सत्य हुन । र यो सत्य प्रकट भएको तथ्य नै हामी विश्वासका लागि ठूलो सान्त्वना हो । अब यो सान्त्वनाले हामीलाई एउटा अन्तिम प्रश्नतर्फ लैजान्छ.।
त्रिएकता किन महत्वपूर्ण छ ?
सरल रुपमा भन्नुपर्दा, परमेश्वरको त्रिएकताको स्वभावले हामीलाई परमेश्वरबाट टाढा भाग्न होइन, तर हाम्रो प्रेमिलो सृष्टिकर्ता, उद्धारकर्ता र जीवनदाताको रुपमा उहाँतिर दौडिन प्रेरित गर्नुपर्छ । त्रिएकताले हामीलाई यो बु‰न मद्दत गर्छ कि परमेश्वर एक्लो हुनुहुन्न । उहाँलाई साथीको आवश्यकता भएकोले यस ब्रम्हाण्डलाई बनाउनु भएको होइन । पिता, पुत्र र पवित्र आत्माले पहिले नै सिद्ध मित्रताको आनन्द लिनुभएको थियो । महत्वपूर्ण रुपमा, परमेश्वर प्रेमी बन्नको लागी हामीलाई सृष्टि गर्नु आवश्यक थिएन । एक व्यक्ति परमेश्वर जस्तो कि इस्लाममा अल्लाह, अनन्तकालसम्म प्रेमी हुन सक्दैन, किनकि उनलाई प्रेम गर्नको लागी अरु कोही नहुन सक्छ । उसलाई प्रेमी हुनका लागि आफ्नै सृष्टिमा निर्भर हुनु पर्थ्यो । तर त्रिएक परमेश्वर सधैं प्रेमको स्रोत हुनुहुन्छ, र त्रिएकताका तीन व्यक्तिहरुको हामीप्रति बहने आत्म–प्रदान गर्ने प्रेम दिनु स्वभाविक हो । त्रिएकको रुपमा, उहाँले हामीलाई आफ्नै आत्म–प्रेमबाट उद्धार गर्नुहुन्छ । यही कुरा हामी एफिसी १ः ३–१४ मा देख्छौं, जुन पवित्र धर्मशास्त्रको सबैभन्दा गौरवशाली खण्डमध्ये एक होः पिताले हामीलाई पुत्रको रुपमा अपनाउन पूर्व निर्धारण गर्नुभएको छ, पुत्रले हाम्रो उद्धारको लागि आफ्नो रगत बगाउनु भएको छ र पवित्र आत्माले हाम्रो उत्तरधिकारको चिन्ह लगाउनुहुन्छ । त्यसैले, हमीले त्रिएक परमेश्वरको आराधना गर्नुपर्छ र उहाँलाई प्रेम गर्नुपर्छ ।

No comments:
Post a Comment