साँचो वा असल मण्डली कसरी पत्ता लगाउने ?


 




एउटा साँचो चर्च भेट्टाउनु एउटा असल भेडीगोठ भेट्टाउनु जस्तै हो । कति मानिसहरु चर्च भन्न वित्तिकै एउटै परमेश्वर त होनी त्यसैले जुनै चर्चमा जाँदा पनि हुन्छ भन्ने विचार गर्दछन् । तर एक बुद्धिमानी मानिसले त्यस्तो विचार गर्दैन । कारण चर्च केवल भेला हुने ठाउँ मात्र होइन । यो त एक विश्वासीको निम्ति आत्मीक घर हो । जुन घरमा ऊक्त व्यत्ति आत्मिक रुपमा ठिक तरिकाले हुर्कने वातावरण पाउनुपर्दछ । माथी उल्लेख गरेको असल भेडिगोठ भन्नाले स्थानलाई भन्दा पनि उक्त गोठमा भएका भेडाहरु र ति भेडाहरुको गोठालोलाई जोड दिन्छ । एउटा भेडा असल तरिकालाई हुर्किनको निम्ति गोठालोको त निश्चय नै महत्वपुर्ण भुमिका हुन्छ नै तर अन्य भेडाहरुको पनि त्यतिकै महत्वपुर्ण भुमिका हुन्छ । त्यसकारण चर्च छान्ने कुरामा एकदमै होशियारी हुनुपर्छ । म तपाईलाई एउटा स्वस्थ चर्चमा हुनुपर्ने ४ वटा कुराहरु बताउन चाहान्छु जो निम्न छन् ।

बाइबलिय साँचो सिद्धान्त

सर्बप्रथम त तपाईले खोजिरहेको चर्चमा साँचो सिद्धान्तमा विश्वास गर्छन कि गर्दैनन भन्ने कुरा जान्न आवश्यक छ । त्यसकारण उक्त चर्चको सदस्यता लिनुभन्दा पहिले उक्त चर्चको विश्वासको सारलाई पहिले थाहा गर्नुहोस । कतिपटक के हुन सक्छ भने कति चर्चहरुले त्रिएक परमेश्वरमा विश्वास गर्छौ त भन्छन तर त्यो कुरा मण्डलीमा अभ्यास गरेका हुँदैनन । त्यसकारण तपाईले कुनै चर्चलाई छान्न अघि उक्त चर्चको अभ्यासलाई नियाल्नुपर्दछ । 

बाइबलिय प्रचार

त्यसैगरी दोस्रो कुरा हो उक्त चर्चमा बाइबलिय प्रचार हुन्छ कि हुँदैन । त्यो कुरालाई बुझ्न निकै आवश्यक छ । त्यसको लागी तपाइले उक्त चर्चमा प्रचार गर्ने वचनलाई लाई जाँच्नुहोस । कारण हालका दिनहरुमा बाइबलिय ख्रीष्टकेन्द्रीत प्रचार भन्दा पनी चर्चहरुमा उदारवादी प्रचार, नैतिकवादी प्रचार, प्रेरणात्मक प्रचार लगायत भौतिकवादी प्रचार जस्ता कुराहरुले ठाउँ लिएका छन् । यदि चर्चमा बाइबलिय प्रचार हुँदैन भने उक्त चर्च मृत हो । 

बाइबलिय आराधना 

तेस्रो कुरा हो बाइबलिय आराधना उक्त चर्चमा कसरी अभ्यास गर्छन । हालका दिनहरुमा धेरै चर्चहरुमा आराधना एउटा मनोरञ्जन बनिरहेको छ । आराधनामा म्युजिक, भावनात्मक कुरा र मनोरञ्जनात्मक कुराले ठाउँ लिएको छ । जसकारण तपाईले यो कुरा बुझ्न आवश्यक छ कि उक्त चर्चमा गाईने भजनहरुले बाइबलिय सत्यतालाई घोषणा गर्छन ? साथै उक्त चर्चमा आफूलाई भन्दा ख्रीष्टलाई उचाल्ने गर्दछन ? इत्यादी प्रश्नहरुको जवाफ तपाईले पाउनुपर्ने हुन्छ । 

बाइबलिय चेलापन 

चौथो कुरा मण्डली भेला हुने ठाउँ मात्र होइन तर यो त एक विश्वासीको निम्ति आत्मीक घर हो । जहाँ भेडाहरुलाई हुर्किनको निम्ती बाइबलिय चेलापनको महत्वपुर्ण भूमिका रहन्छ । बाइबलिय चेलापन भित्र सामुहिक बाइबल अध्ययन, घरेलु संगती, सामुहिक प्रार्थना, गुणस्तरिय भेटघाट लगायत एउटाले अर्कोलाई ख्रीष्टमा हुर्काउनको निम्ति विभिन्न कृयाकलाप गरिन्छ । यी कुराहरु उक्त मण्डलीमा अभ्यास हुन्छ कि हुँदैन जाँच्नुपर्नेहुन्छ । 


निष्कर्ष 

तपाईले यस संसारमा सिद्ध चर्च त भेटाउन सक्नुहुन्न तर साँचो चर्चचाहीँ भेटाउन सक्नुहुन्छ, जहाँ एकजना मुक्ति फाएको व्यक्ति सामुहिक जीवनमा मुत्तिको ज्ञानमा हुर्कन बढ्न आवश्यक छ । अनि एक साँचो मुक्ति पाएको व्यक्ति एउटा साँचो अर्थात साँचो चर्चमा हुर्कन पाउनु उसको अधिकारको कुरा हो । त्यसैले असल चर्च खोज्नुहोस र चेला बन्दै चेला बनाउने परमेश्वरको मिसनमा जोडिनुहोस् ।


No comments:

Post a Comment