हाम्रो विश्वास
खण्ड १ः पवित्र शास्त्र
बाइबल परमेश्वरको प्रेरणाद्वारा मानिसको निम्ति दिइएको उहाँको पूर्ण र अन्तिम प्रकाश हो । परमेश्वरले उहाँको व्यक्तित्व, काम र योजना यस अद्धितिय पुस्तकमा मानिसको निम्ति प्रकाश पार्नुभएको छ । मानिसको ज्ञान, विश्वास, उद्धार र अभ्यासको निम्ति यो स्पष्ट, पूर्ण, त्रुटिरहीत र अधिकार सम्पन्न परमेश्वरको वचन हो । बाइबल परमेश्वरको सार्वभौमिक नियन्त्रणमा मानिसहरुद्धारा लेखिएका पुरानो करारका ३९ र नयाँ करारका २७ वटा गरी जम्मा ६६ वटा पुस्तकहरुको संग्रह हो । स्थानिय मण्डलीको सम्पूर्ण शिक्षा, अभ्यास र विश्वासको निम्ति यो सधैं पर्याप्त छ । (हिब.१ः२;
२तिमो.३ः१६; यहू ३; प्रका.२२ः१९; एफ.२ः२०; २पत्रू.१ः२१; यूह.१०ः३५; भ.सं.११९ः१६०; मत्त.४ः४
खण्ड २ः पिता परमेश्वर
हामी एक मात्र साँचो परमेश्वरमा विश्वास गर्दछौं । परमेश्वर त्रिएक : पिता परमेश्वर, पुत्र परमेश्वर र पवित्र आत्मा परमेश्वर हुनुहुन्छ, जो व्यक्तित्वमा तीन फरक, आफैंमा पूर्ण, अनन्त र एक–समान, अद्धितिय पहिचानमा हुनुहुन्छ । जो सर्वोच्च शासक, स्वर्ग र पृथ्वीको सृष्टिकर्ता हुनुहुन्छ । परमेश्वर, उहाँको पवित्रता, न्याय, ज्ञान, कृपा र प्रेममा सधैं अपरिवर्तनीय हुनुहुन्छ । परमेश्वर सर्वशक्तिमान, सर्वज्ञानी, सर्वव्यापी हुनुुहन्छ । उहाँ मानिसहरुको उद्धारकर्ता र न्यायकर्ता हुनुहुन्छ । परमेश्वरले सबैकुरालाई उहाँको सार्वभौमिकतामा र उहाँकै महिमाको निम्ति नियन्त्रण, अधिकार र शासन गर्नुहुन्छ । (व्य.६ः४; यूह.१७ः५; उत.१ः१–२; यकू.१ः१७; भ.सं.१०२ः२७; १शामू.१५ः२९; यूह.१ः१; यशै.६ः३; व्य.३२ः४; रोम.१६ः२७; एफ.२ः४; १यूह.४ः१६; भ.सं.११५ः३; एफ.१ः११; रोम.११ः३६)
खण्ड ३ : येशू ख्रीष्ट परमेश्वर
प्रभु येशू ख्रीष्ट, परमेश्वरको पुत्र जो पुर्ण रुपमा मानिस र पुर्णरुपमा परमेश्वर हुनुहुन्छ । उहाँ कन्या मरियमद्वारा पवित्रआत्माबाट गर्भधारण भएर जन्मुभयो । उहाँले पापरहित जीवन जिउनुभयो र पूर्णरुपमा पिताको आज्ञाकारी भएर संसारमा जिउनुभयो । येशूले गर्नुभएका आश्चर्यकर्महरु, उहाँका अधिकारका प्रमाण हुन् जसले उहाँको शिक्षा साँचो हुन् भन्ने कुरा प्रमाणित गर्दछन् । पापी मानिसहरुको पापको दण्डको सट्टामा मोल तिर्न, अन्तिम र सधैंको निम्ति एकैपटक उद्धारको वलिदान भएर रगत बगाउन क्रूसमा मर्नुभयो, चिहानमा गाडिनुभयो र तेस्रो दिनमा पुनरुत्थान हुनुभयो । उहाँ पुनरुत्थान भएको शरीरमा मानिसहरुको माझ चालिस दिन रहनुभयो, अनि धेरै मानिसहरुका साक्षीहरुका माझ स्वर्गमा उचालिनुभयो । उहाँ पिताको दाहिने हात पट्टि सिंहासनमा विराजमान हुनुहुन्छ । केवल येशू ख्रीष्टमात्र मानिस र परमेश्वरको बीच मध्यस्थकर्ता हुनुहुन्छ । परमेश्वरको उपस्थितिमा मानिसहरुको निम्ति उहाँले पितासँग अर्जबिन्ति गर्नुहुन्छ । (यूह १ः१; २०ः२८; रोम.९ः५; गला.४ः४; हिब.४ः१५; मर्कू. १ः२४; यूह १४ः६; यशै.५३ः५; १कोर.१५ः३–४; एफ.१ः७; प्रेर.१ः९; हिब.१ः३; रोम.८ः३४)
खण्ड ४ः पवित्र आत्मा परमेश्वर
हामी विश्वास गर्छौं कि पवित्र आत्मा सल्लाहकार हुनुहुन्छ । उहाँ येशूलाई महिमित पार्न र येशूको मुक्तिको काम मानिसहरुमा लागू गर्नको निम्ति उहाँ स्वर्गबाट पठाईनुभएको छ । पवित्र आत्माले मानिसहरुको पाप देखाइदिनुहुन्छ, पुनर्जीवनमा ल्याउनुहुन्छ र परमेश्वरको वचनको सही अर्थ बुझ्नको निम्ति समझशक्ति दिनुहुन्छ । पवित्र आत्मा हरेक नयाँ जीवन पाएको विश्वासीमा बास गर्नुहुन्छ र उहाँले मुक्तिको निश्चियता दिनुहुन्छ । हरेक उद्धार पाएका सदस्यहरुलाई येशूको रुपमा वृद्धि हुन शक्ति प्रदान गर्नुहुन्छ । पवित्र आत्माले विश्वासीलाई ख्रीष्टको शरीरमा एक बनाएर आराधना, सेवा र सुसमाचारको कामको निम्ति बल प्रदान गर्नुहुन्छ । (यूह. १६ः८,१४; तित.३ः५; यूह.३ः६; १कोर.२ः१४;
एफ.१ः११–१४, १७–१९; भ.सं.११९ः१८; रोम.८ः९; ८ः१५; २कोर.३ः१८; प्रेर.१ः४, ३१; १कोर.२ः४–५; एफ.५ः१८)
खण्ड ५ः मानिस
पुरुष र स्त्री दुवै परमेश्वरको स्वरुपमा सृजिएका प्राणी हुन् र दुवैले जन्मसिद्ध नै मूल्य–मान्यता र मर्यादमा बराबर हैसियत राख्छन् । पुरुष र स्त्री दुवै आ–आफ्नो फरक भूमिका द्धारा परमेश्वरलाई महिमा, आदर र प्रशंसा गर्नको निम्ति सृजिएका हुन् । मानिसको एकमात्र र महान् उद्देश्य परमेश्वरको आज्ञापालन गर्नु, उहाँको आराधना गर्नु, उहाँलाई प्रेम गर्नु र उहाँमा नै आनन्दित हुनु हो । पहिलो अभिभावक (आदम र हव्वा) ले अनाज्ञाकारी भएर परमेश्वरको विरुद्ध पाप (विद्रोह) गरेका कारण जन्मसिद्ध हरेक मानिस संसारमा परमेश्वरको विद्रोही (पापी) भएर र हरेक पक्षमा पूर्ण भ्रष्टतामा जन्मन्छन् । हरेक मानिस परमेश्वरको शत्रू, उहाँ सँगको आत्मिक सम्बन्ध विहिन र पापको दोषी भएर जन्मन्छन् र यसको परिणाम अनन्तको मृत्यु हो । यसैकारण, परमेश्वरको स्वीकार योग्य भएर उहाँलाई प्रसन्न पार्न हरेक मानिस न्यायी परमेश्वरको अघि नयाँ जन्म पाएर, क्षमालाई स्वीकार गरी उहाँसँगको मिलापमा आउनु आवश्यक छ ।
(उत्त.१ः२७; १पत्रू.३ः७; व्य.६ः५; रोम.५ः१२; एफ.२ः१–३; यर्मि.१७ः९; रोम.८ः७–८)
खण्ड ६ः मुक्ती
हामी विश्वास गर्दछौं, हरेक मानिसको मुक्ति सम्पुर्णरुपले परमेश्वरको अनुग्रहको काम हो, यो मानिसको असल कामद्धारा प्राप्त गर्न सकिदैन । मानिसको मुक्ति बाइबलीय सुसमाचारमा प्रभु येशूले सिध्याउनु भएको कामद्वारा मानिसहरुको निम्ति दिइएको छ । मानिसको मुक्ति येशूको मध्यस्थता र उहाँको बलिदानद्धारा मात्र सम्भव भएको छ । बोलाउनु भएकाहरुको निम्ति पाप स्वीकार र ख्रीष्ट येशूमा विश्वास द्धारा सित्तैंमा परमेश्वरले पापीहरुलाई प्रेमगरी क्षमा दिनुहुन्छ । ख्रीष्ट येशू प्रभुमा विश्वास गर्नेहरु केवल विश्वासद्धारा धर्मि ठहरिन्छन्, येशूको धार्मिकता नै उनीहरुको निम्ति पनि धार्मिकता गनिन्छ, परमेश्वरको परिवारमा उनीहरु ग्रहण गरिएका हुन्छन् र अनन्त जीवन प्राप्त गर्छन् ।
(एफ.२ः८–९; २तिमो.१ः९, २ः२५; तित.३ः५; हिब.७ः२७; मत्त.११ः२८; रोम.३ः२८, ५ः१९, ८ः१५ १०ः१३; १कोर.१ः२४; प्रेर.११ः१८; २कोर.५ः२१; यूह.३ः१६)
खण्ड ७ : मण्डली
विश्वव्यापी मण्डली एउटा शरीर हो, यसको शिर येशू ख्रीष्ट स्वयंम हुनुहुन्छ र जसका सदस्यहरु येशूमा विश्वासगरी उद्धार पाएकाहरु मात्र हुन्छन् । मण्डलीको संसारमा देखिने रुप चाहिँ स्थानीय मण्डली हो, जसमा आराधना गर्नको निम्ति, एकअर्का प्रति उत्तरदायी हुन समर्पित सदस्यहरु हुन्छन् । सुसमाचारको खातिर मण्डलीमा हरेक सदस्यहरु परमेश्वरको सामुहिक आराधना, वचन प्रचारको सेवकाई, विश्वासीको बप्तिस्मा र प्रभुभोज (दुई बाइबलीय विधीहरु)को बाइबलीय अभ्यास, पास्टरीय वास्तामा समर्पित हुनुपर्छ । मण्डलीको अर्थ भवन वा तथ्याङ्क (संख्या) होइन तर नयाँ जन्म पाएका र एकअर्काप्रति उत्तरदायी सदस्यहरुको समूह हो । सदस्यहरुले मण्डलीको पवित्रतालाई कायम राखि सुसमाचार लाई निरन्तरता दिन ख्रीष्टको रुपमा वृद्धि हुँदै, वचनको शिक्षाद्वारा मण्डलीका सदस्यहरु एक–अर्कालाई सच्याउन, सुधार गर्न र तालिम दिन निरन्तर जिम्मेवार बन्नुपर्छ । ख्रीष्टको शरीरको एकता मण्डलीको आन्तिरिक र अन्य मण्डलीसँग आपसी प्रेम, वास्ता र उत्साहद्धारा अभिव्यक्त गरिँदछ । साँचो स्थानीय मण्डलीहरु बीचको प्रेम र एकता बाइबलको ठीक व्याख्या (प्रचार) र सुसमाचारको विश्वासयोग्यतामा देखिँदछ । स्थानीय मण्डलीको संचालनको सम्पूर्ण जिम्मेवारी स्थानीय मण्डलीकै सदस्यहरुको हो । (मत्त.१६ः८, १८ः१५–२०, २८ः१९; हिब.१२ः२२–२३; कल.४ः१५; एफ.२ः१९–२२, ५ः१९–२१; १कोर.११ः२३–२६; हिब.१०ः२३–२५; १ पत्रू.१ः२२; २कोर.६ः१४; १यूह.१ः७; एफ.३ः१०)
खण्ड ८ : विधिहरु
पानीको बप्तिस्मा र प्रभु–भोज, संसारमा सुसमाचारको देखिने चिन्हको रुपमा येशूले स्थापना गर्नुभएका दुइ विधिहरु हुन् । यी केवल मण्डलीको निम्ति मात्र पालना गर्न दिइएका विधिहरु हुन् । यी विधिहरुको ठीक प्रयोगद्वारा सुसामाचार जोगाउनु मण्डलीको कर्तव्य हो । बप्तिस्माले येशूसँगको मिलापद्वारा मण्डलीमा प्रवेश भएको सार्वजनिक चिनारी दिन्छ तर बप्तिस्माले मुक्ति दिंदैन । बप्तिस्मा पापको पश्चाताप गरी, परमेश्वरमा विश्वास गर्ने, मुक्तिको निश्चयता भएका विश्वासीहरुको निम्ति मात्र र पानीमा पुर्ण डुवाऊद्धारा येशू ख्रीष्टको आज्ञापालनको निम्ति दिइन्छ । प्रभु–भोज सबैको निम्ति येशूको एकपटकको वलिदानको सम्झना र उहाँको आगमनको निश्चयताको निम्ति सबैको सामु मण्डलीले
अभ्यास गर्ने विधी हो । प्रभु–भोज एक सम्झनाको विधी हो र यसमा प्रयोग भएका रोटी र दाखरस वास्तविक मासु र रगतमा परिवर्तन हुँदैनन् । प्रभु–भोजको सहभागितामा शारीरिक (भौतिक) आशिष पाईंदैन, यसको आत्मिक आशिष विश्वासद्वारा प्राप्त गरिन्छ । (मत्त.२८ः१९; रोम.६ः३; कल.२ः१२; १पत्रू.३ः२१; लूक.२२ः१९; १कोर.११ः२३–२६)
खण्ड : ९ विश्वासीहरूको अनन्त सुरक्षा र मुक्तिको निश्चयता
हामी विश्वास गर्दछौं, सबै उद्धार पाएकाहरू —
(क) एक पटक बचाइएपछि परमेश्वरको शक्तिले सुरक्षित राखिन्छन् र यसरी ख्रीष्टमा अनन्तसम्मै सुरक्षित रहन्छन् (यूहन्ना ६ः३७–४०; १०ः२७–३०; रोमी ८ः१,३८,३९; १ कोरिन्थी १ः४–८; १ पत्रुस १ः५);
(ख) उनीहरू परमेश्वरको वचनले दिएको गवाहीको आधारमा आफ्नो मुक्तिको निश्चयतामा रमाहट गर्न सक्छन्, तरैपनि, त्यही वचनद्वारा आफ्नो स्वतन्त्रतालाई शरीरको अभिलाषा पूरा गर्नदेखि प्रतिबन्धित हुन्छन् (रोमी १३ः१३–१४; गलाती ५ः१३; तीतस २ः११–१५)।
खण्ड ९ : विश्वासीका दुई स्वभावहरू
हामी विश्वास गर्दछौं, मुक्ति पाएको प्रत्येक व्यक्तिसँग —
(क) दुइटा स्वभावहरू हुन्छन् (रोमी ६ः१३; ८ः१२–१३),
(ख) जसमा उसको नयाँ स्वभाव पुरानो स्वभावमाथि उसभित्र बास गर्नुहुने पवित्र आत्माद्वारा विजयी बन्न सक्ने व्यवस्था गरिएको छ (गलाती ५ः१६–२५; एफेसी ४ः२२–२४; कलस्सी ३ः१०; १ पत्रुस १ः१४–१६; १ यूहन्ना ३ः५–९);
(ग) तर वर्तमान जीवनमै पुरानो स्वभाव निर्मूल हुन सक्छ भन्ने दाबी अ–बाइबलीय हो (१ यूहन्ना १ः८–१०)
खण्ड १० : अलगपनता
हामी विश्वास गर्दछौं, मुक्ति पाएका सबै —
(क) आफ्ना मुक्तिदाता र प्रभुको निन्दा नहुने तरिकामा जीवन बिताउन जिम्मेवार छन् (२ तिमोथी ३ः१–५; रोमी १२ः१–२; १४ः१३) र
(ख) उनीहरूलाई सबै झूटा शिक्षा र खराब अभ्यासदेखि साथै सबै पापका संसारिक मोजमज्जा, क्रियाकलाप र सङ्गतदेखि अलग रहन परमेश्वरको आज्ञा छ (१ यूहन्ना २ः१५–१७; २ यूहन्ना ९–११; २ कोरिन्थी ६ः१४–७ः१)
खण्ड ११ः सुसमाचार प्रचार
हामी विश्वास गर्दछौं, मुक्ति पाएकाहरू —
(क) आफ्नो जीवनको र मुखको गवाहीद्वारा पवित्र शास्त्रका सत्यताहरूको साक्षी हुन जिम्मेवार छन् । (प्रेरित १ः८)
(ख) सबै मानिसहरूलाई सुसमाचार प्रचार गर्ने प्रयास गर्न जिम्मेवार छन् (मर्कूस १६ः१५; २ कोरिन्थी ५ः१९–२०)।
खण्ड १२ः ख्रीष्टको दोस्रो आगमन
हामी विश्वास गर्दछौं, ख्रीष्टको दोश्रो आगमन —
(क) त्यो “धन्यको आशा” हो (तीतस २ः१३),
(ख) जुन आशा त्यो दिन पूरा हुनेछ जब प्रभु येशू ख्रीष्ट स्वयं उद्धार पाएकाहरूलाई लिनलाई आकाशमा आउनुहुनेछ (यूहन्ना १४ः१–३; १ थेस्सलोनिकी ४ः१३–१८),
(ग) जुन आगमन कुनै पनि घडी हुन सक्नेछ (१ कोरिन्थी १५ः५१–५२; १ थेस्सलोनिकी १ः९),
खण्ड १३ : अनन्त अवस्थिति
हामी विश्वास गर्दछौं, मानिसको अनन्त अवस्थितिमा जसका लागि —
(क) सबै मानिसहरू स–शरीर बौराइनेछन् (यूहन्ना ५ः२८)
(१) मुक्ति पाएकाहरू अनन्त जीवनका लागि (यूहन्ना ५ः२९; मत्ती २५ः४६),
(२) मुक्ति नपाएकाहरू न्याय र अनन्त दण्डका लागि (यूहन्ना ५ः२९; मत्ती २५ः४६; प्रकाश २०ः५,६,१२,१३)।
(ख) मरणपछि उद्धार पाएकाहरूका प्राणहरू –
(१) शरीरबाट अलग भएर प्रभुसित रहन जान्छन् (लूका २३ः४३; २ कोरिन्थी ५ः८; फिलिप्पी १ः२३), र
(२) पहिलो बौरिउठाइको घडीसम्म आनन्दपूर्ण चेतनामै रहिरहन्छन् (प्रकाश २०ः४–६; १ थेस्सलोनिकी ४ः१६–१७),
(३) जुन घडी आत्मा, प्राण र शरीर एकसाथ महिमित रूपमा जोडिनेछन् अनि यसरी उनीहरू सदा सर्वदा प्रभुसित रहनेछन् (फिलिप्पी ३ः२१)।
(ग) मरणपछि उद्धार नपाएकाहरूका प्राणहरू –
(१) दोश्रो बौरिउठाइसम्म कष्टपूर्ण चेतनामै रहिरहन्छन् (लूका १६ः१९–२६),
(२) जब प्राण र शरीर जोडिएर उनीहरू ठूलो सेतो सिंहासनका सामु देखा पर्नेछन् र आगोको झीलभित्र फ्याँकिनेछन् जहाँ उनीहरू अस्तित्वहीन भएर जानेछैनन् बरू कष्टपूर्ण अनन्त दण्ड भोग्नेछन् (मत्ती २५ः४१–४६; २ थेस्सलोनिकी १ः७–९; यहूदा ६–७; मर्कूस ९ः४३–४८; प्रकाश २०ः११–१५)।
खण्ड १४ः सामाजिक सवालहरु
१. मानव लैंगिकता : हामी विश्वास गर्छौ कि परमेश्वरको आज्ञाअनुसार कुनै पनी यौन क्र्रियाकलाप विवाह भन्दा बाहिर हुनुहुदैन । त्यो केवल एक विवाहित जोडी विच एक पुरुष र महिला भित्र मात्र हुनुपर्छ । साथै समिलैंगिता, अनाचार, व्यभिचार, अश्लिलता परमेश्वरले उपहार स्वरुप दिनुभएको यौनको पापपूर्ण विकृती हो । साथै हामी विश्वास गर्छौ कि शल्यक्रियाद्धारा लिङ्ग परिवर्तन गर्ने कुरा परमेश्वरको विरुद्धमा छ । बाइबलिय विवाह भनेको एक पूरुष र महिला विचको कुरा हो ।
२. मण्डली नेतृत्व : हामी विश्वास गर्दछौँ कि परमेश्वरको नजरमा आत्मीक रुपमा पुरुष र स्त्री समान छन् । तर परमेश्वरले पुरुष र स्त्रीलाई छुट्टाछुट्टै मण्डली र घरमा जिम्मेवारीहरु दिनुभएको छ । पती घरमा अगूवाको भुमिका निर्वाह गर्नुपर्छ अनी पुरुषहरु मण्डलीमा पाष्टर र एल्डरको भुमिका निर्वाह गर्नुपर्दछ । १ तिमोथी २ः२–४ तितस १ः५–७, १ तिमाथी ३ः१–२, १ कोरन्थी ११ः३


No comments:
Post a Comment