ख्रीष्टमा परमेश्वरको मन्दिर ।



परिचय

“ख्रीष्टमा परमेश्वरको मन्दिर” भन्ने विषय सम्पूर्ण बाइबललाई एक सूत्रमा बाँध्ने महत्वपूर्ण विषय हो। जब हामी उत्पत्तिदेखि प्रकाशसम्म हेर्छौ भने परमेश्वरको मुख्य उद्देश्य आफ्ना जनहरूको बीचमा वास गर्नु र उनीहरूसँग करारीय सम्बन्ध कायम गर्नु हो । मन्दिर परमेश्वरको उपस्थितिको स्थान, आराधनाको केन्द्र, पापको प्रायश्चित हुने स्थान तथा परमेश्वर र उहाँका जनहरूबीचको भेटघाटको माध्यम थियो । यस निबन्धमा ख्रीष्ट कसरी परमेश्वरको मन्दिर हुनुहुन्छ भन्ने कुरालाई देख्न सक्नेछौँ ।


२. मन्दिरको बाइबलीय पृष्ठभूमि


(क) अदनको बगैंचाः पहिलो मन्दिर

यदि हामी परमेश्वर र मानिस भेटघाट गर्ने पहिलो मन्दिरलाई विचार गर्छौ भने उत्पतीमा देख्दछौँ । जहाँ परमेश्वर र मानिसविचको संगतीलाई देख्न सक्छौँ (उत्पती ३ः८) । जसो जी. के. बिलले अदनको बगैंचालाई पहिलो मन्दिरको रूपमा व्याख्या गरेका छन्। यद्यपि “मन्दिर'' शब्द प्रयोग गरिएको छैन, तर अदनमा मन्दिरका सबै प्रमुख विशेषताहरू पाइन्छन्।

पहिलो, परमेश्वर आदम र हव्वासँग प्रत्यक्ष रूपमा उपस्थित हुनुहुन्थ्यो (उत्पत्ति ३ः८)। दोस्रो, आदमलाई बगैंचाको “हेरचाह'' र “गोडमेल'' गर्ने जिम्मेवारी दिइएको थियो (उत्पत्ति २ः१५)। यही हिब्रु शब्दहरू पछि लेवी पूजाहारीहरूको सेवाको वर्णन गर्न प्रयोग गरिएको छ (गन्ती ३ः७–८)। तेस्रो, जीवनको रूख, सुन, बहुमूल्य पत्थर र नदीहरूको वर्णन गरिएको जुन पछि मन्दिरसँग सम्बन्धित प्रतीकहरूसँग मिल्दोजुल्दो छ।

त्यसैले अदन केवल बगैंचा मात्र थिएन; त्यो परमेश्वरको पवित्र निवासस्थान थियो जहाँ मानिसले उहाँको उपस्थितिमा आराधना गर्थ्यो। तर पापको कारण मानिस मन्दिरबाट निकालियो र परमेश्वरसँगको संगति टुट्यो।


ख) भेट हुने पाल

इस्राएलीहरू मिश्रबाट छुटेपछि परमेश्वरले मोशालाई भेटहुने पाल निर्माण गर्न आज्ञा दिनुभयो (प्रस्थान २५–४०) । यसको मुख्य उद्देश्य स्पष्ट थियोः ’म तिनीहरूका मध्‍यमा बस्‍नलाई तिनीहरूले मेरो लागि एउटा पवित्रस्‍थान बनाऊन्‌।' (प्रस्थान २५ः८)

भेट हुने पाल परमेश्वरको महिमाले भरिएको थियो (प्रस्थान ४०ः३४–३८)। यहाँ बलिदान चढाइन्थ्यो, पूजाहारीहरूले सेवा गर्थे र परमेश्वरको उपस्थितिको चिन्ह देखिन्थ्यो। तर यो पनि स्थायी मन्दिर थिएन। यसले भविष्यमा आउने ख्रीष्टलाई देखाउने प्रतीकको काम गरिरहेको थियो।


(ग) सोलोमनको मन्दिर

दाऊदको इच्छाअनुसार सोलोमनले यरूशलेममा भव्य मन्दिर निर्माण गरे (१ राजा ६–८)। जहाँ परमेश्वरको महिमाले मन्दिर भरियो (१ राजा ८ः१०–११)। यो इस्राएलको आराधनाको केन्द्रको रूपमा स्थापना भयो ।

तर दुःखको कुरा मानिसहरूको निरन्तर परमेश्वर विरुद्धको विद्रोहको कारण परमेश्वरको महिमा मन्दिरबाट हट्यो (इजकिएल १०–११), र अन्ततः वेविलोनको साम्राज्यले मन्दिर ध्वस्त गरिदियो (५८६ ई.पू.)। यस घटनाले एउटा महत्वपूर्ण कुरा बुझायो कि भवन आफैँले परमेश्वरको उपस्थिति सुनिश्चित गर्दैन; तर परमेश्वरको उपस्थीतिको निम्ति करारप्रति आज्ञाकारिता आवश्यक हुन्छ।

(घ) दोस्रो मन्दिर र मसीहको प्रतिक्षा

इस्राएलीहरु बेविलोनद्धारा निर्वासनपछि येरुबावेलको नेतृत्वमा दोस्रो मन्दिर बनाइयो (एज्रा ३–६)। यद्यपि यो मन्दिर पुनर्निर्माण गरियो, तर यस मन्दिरमा परमेश्वरको महिमा आएन । जसकारण भविष्यवक्ताहरूले अझ महान् मन्दिर आउने भविष्यवाणी गरे (हाग्गै २ः६–९; इजकिएल ४०–४८)। इस्राएल मसीहको प्रतिक्षामा थियो, जसले परमेश्वरको वास्तविक उपस्थितिलाई पुनःस्थापित गर्नुहुने थियो।


२. येशू ख्रीष्टः साँचो मन्दिर

नयाँ करारको सबैभन्दा महत्वपूर्ण घोषणा यही हो कि येशू ख्रीष्ट स्वयं परमेश्वरको साँचो मन्दिर हुनुहुन्छ। यूहन्ना १ः१४ मा लेखिएको छ, ’अनि वचन देहधारी हुनुभयो, र अनुग्रह र सत्‍यताले पूर्ण भई हाम्रा बीचमा वास गर्नुभयो। हामीले उहाँको महिमा देख्‍यौं, जुन महिमा पिताबाट आउनुभएको एकमात्र पुत्रको जस्‍तो थियो। '

“वास गर्नुभयो” भन्ने ग्रीक शब्दको अर्थ “भेटहुने पाल टाँग्ने'' (त्बदभचलबअभिम) हो। अर्थात्, परमेश्वरले अब कपडाको पाल वा ढुङ्गाको भवनमा होइन, आफ्नै पुत्रमा वास गर्नुभयो। अर्को स्पष्ट प्रमाण यूहन्ना २ः१९–२१ मा पाइन्छ। येशूले भन्नुभयो, येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “यस मन्‍िदरलाई भत्‍काइदेओ, र म तीन दिनमा यसलाई खडÞा गर्नेछु।'

यतिबेला यहूदीहरूले उहाँले हेरोदको मन्दिरको कुरा गर्नुभएको ठाने, तर यूहन्नाले स्पष्ट लेख्छन् कि उहाँ आफ्नै शरीरको विषयमा बोलिरहनुभएको थियो। यसले देखाउँछ कि पुरानो करारको मन्दिर ख्रीष्टमा पूर्णता पाएको छ। अब परमेश्वरको वास्तविक निवासस्थान ढुङ्गाको भवन होइन, तर देहधारी परमेश्वरको पुत्र हुनुहुन्छ।


३. येशू ख्रीष्टमा परमेश्वरको पूर्ण उपस्थिती

हामीले हेर्छौ भने पुरानो करारमा परमेश्वरको महिमा बादल, आगो वा पवित्रस्थानमा सीमित रूपमा प्रकट हुन्थ्यो। तर अब नयाँ करारमा भने ख्रीष्टमा परमेश्वरको सम्पूर्ण पूर्णता वास गर्दछ। जसो, कलस्सी १ः१९ ले भन्छ, ’किनकि उहाँको आफ्‍नो सारा पूर्णता ख्रीष्‍टमा वास गरेकोमा परमेश्‍वर प्रसन्‍न हुनुभयो, ' त्यसैगरी कलस्सी २ः९ ले पनि घोषणा गर्दछ कि, ’किनकि ख्रीष्‍टमा ईश्‍वरत्‍वको सारा परिपूर्णता शरीरमा वास गर्दछ,' यसको अर्थ येशू केवल परमेश्वरको प्रतिनिधि मात्र नभई, उहाँ नै देहधारी परमेश्वर हुनुहुन्छ। त्यसैले ख्रीष्टलाई भेट्नु भनेको परमेश्वरलाई भेट्नु हो। उहाँलाई आराधना गर्नु भनेको परमेश्वरलाई आराधना गर्नु हो ।

सुधारवादी ईश्वरशास्त्रले यस सत्यलाई जोड दिन्छ कि ख्रीष्ट नै पुरानो करारका सबै प्रकार (त्थउभक), फ्रतीक (क्थदयकि) र भविष्यवाणीहरूको परिपूर्ति हुनुहुन्छ । मन्दिर, पूजाहारी, बलिदान र पवित्र स्थान सबै अन्ततः ख्रीष्टमै पूरा हुन्छन्। त्यसैले नयाँ करारमा उद्धारको केन्द्र कुनै भौतिक मन्दिर होइन, तर जीवित ख्रीष्ट हुनुहुन्छ।


निष्कर्ष

अदन पहिलो मन्दिर थियो जहाँ परमेश्वर र मानिसबीच प्रत्यक्ष संगती थियो । तर पापले गर्दा त्यो संगतीलाई भत्काईदियो । अर्को शब्दमा भन्नुपर्दा मानिस त्यो पवित्र मन्दिरबाट निकालियो कारण मानिस पापको कारणले गर्दा अपवित्र भयो । तर परमेश्वरले मानिसमाझ आफ्नो उपस्थीति देखाउनलाई अस्थायी प्रवन्ध (भेट हुने पाल, मन्दिर) जो पुर्ण उपस्थिति नदेखाउने समयसम्मको लागी गरिएका प्रबन्धहरु थिए । तर अनन्तः परमेश्वरले आफ्नो पुर्ण उपस्थीति आफ्नो पुत्र येशु ख्रीष्ट मार्फत देखाउनु भयो । जो उहाँको पुत्र देहधारी भई मानिसहरुको माझमा बस्न आउनुभयो जसको बारेमा बाइबलले भन्छ, “हेर, कन्‍याले गर्भधारण गर्नेछिन्, र तिनले एउटा पुत्र जन्‍माउनेछिन्, र उहाँको नाउँ इम्‍मानुएल राखिनेछ,“ जसको अर्थ हो, “परमेश्‍वर हामीहरूसँग।“ (मत्ती १ः२३) त्यसकारण अब परमेश्वरको मन्दिर कपडा वा ढुङ्गाले बनेको होइन तर मासुले बनेको मन्दिर अर्थात येशू ख्रीष्ट नै त्यो पूर्ण मन्दिर हुनुहुन्छ जहाँ मानिसहरुले परमेश्वरको पूर्ण उपस्थीती पाउँदछन ।

No comments:

Post a Comment