रोचक प्रसङ्ग : ख्रीष्टमसको ख्रीष्ट पाप उठाई लाने परमेश्वरको थुमा !




ख्रीष्टमसको ख्रीष्ट पाप उठाई लाने परमेश्वरको थुमा भएर बेथलेहेमको भेडाको डूँडमा पर्सिनुभयो ! येशू ख्रीष्ट असल गोठालो र थुमा (भेडाको बच्चा) दुवै हुनुहुन्छ ! त्यसैले पनि उहाँ गोठालाहरु र भेडाहरुको माझ यहूदीयाको बेथलेहेममा भविष्यवाणी अनुसार नै जन्मनुभयोः 

’ए बेथलेहेम, यहूदा मुलुकको गाउँ, तँ कुनै किसिमले यहूदाका शासकहरूका बीचमा कुनैभन्‍दा पनि तुच्‍छ छैनस्, किनकि तँबाट एक जना शासक निस्किआउनेछन्, जसले मेरा मानिस, इस्राएलको हेरचाह गर्नेछन् (मीका ५ः२, मत्ति २ः६) !'

रोचक के छ भने बेथलेहेम शहर इस्राएलको मन्दिरको लागि बलिदानको थुमा उत्पादन गर्ने र हुर्काउने प्रान्त थियो । बेथलेहेममा हुर्काईएको थुमा नै पूजाहारीले १४ दिनको निगरानी, निरीक्षण, र परीक्षण पश्चात निस्तार चाडको निष्खोट थुमा लगायत सम्पूर्ण अरु पवित्र चाडहरुको बलिदानको (प्रयाश्चितको चाडको बलिदान र पेन्तिकोस चाडको बलिदान) रूपमा मन्दिरमा अर्पण गर्नको लागि बेचिन्थ्यो ! 

जब बेथलेहेममा नयाँ थुमा जन्मिन्थ्यो, तब गोठालोले संक्रमण नहोस् भनेर र लडेर चोटपटक नलागोस् भनेर डूँडÞमा राख्ने चलन थियो ! बेथलेहेमको गोठालोले यसो गर्नुको उद्देश्य नै एक दिन त्यो थुमा परमेश्वरमा ग्रहणयोग्य बलिदानको रूपमा बिक्री गर्न सकियोस् भनेर हो ! संसारको पाप उठाई लाने थुमालाई बेथलेहेमको भेडाको डूँडमा राखिनु कुनै संयोग या घटना थिएन, तर परमेश्वरको सुनियोजित योजना थियो ! यति मात्रै हैन, यो मोरियाहको डाँडामा अब्राहामलाई प्रतिज्ञा गरिएको तथा इसहाकलाई प्रतिस्थापन गरिदिने यहोवे ईरे परमेश्वरको, संसारको लागि, प्रबन्ध थियो (हेर्नुहोस यूहन्ना १ः२९;३ः१६) ! 

अझ रोचक के छ भने ख्रीष्टलाई डूँडÞमा राखिएको घटनालाई गोठालाहरुको निम्ति चिन्ह भनिएको छः तब स्‍वर्गदूतले तिनीहरूलाई भने, “नडराओ, किनभने हेर, म तिमीहरूलाई बडो आनन्‍दको सुसमाचार सुनाउँछु, जो सबै मानिसहरूका निम्‍ति हुनेछ। आज दाऊदको सहरमा तिमीहरूका निम्‍ति एक जना मुक्तिदाताको जन्‍म भएको छ, जो ख्रीष्‍ट प्रभु हुनुहुन्‍छ । तिमीहरूलाई चिन्‍हचाहिँ यो हुन्‍छः तिमीहरूले एउटा बालकलाई लुगाले बेह्रेको र डूँडमा सुताइराखेको भेट्टाउनेछौ“ (लुका २ः१०–१२) । 

गोठालाहरुको निम्ति यशैया ७ः१४ इम्मानुएलको चिन्ह यहाँ त्यति सान्दर्भिक नहुनसक्छ किनभने गोठालाहरुलाई धर्मशास्क्रको त्यति ज्ञान हुँदैनथ्यो ! मेरो विचारमा डूँडÞमा सुताइराखेको बालकको चिन्हले बलिदानको लागि त्रुसमा अर्पित र अलग गरिएको पवित्र थुमाको संकेत गर्दछ, किनभने गोठालाहरुले एक दिन बलिदानको लागि थुमा बेच्नुपर्छ भन्ने मनसायले नै थुमालाई रोगबाट बचाउन डूँडमा राख्ने चलन थियो ! 

सबभन्दा रोचक त यो छः बेथलेहेमको भेडाको डूँड  ढुङ्गाको हुन्थ्यो ! यदि यस्तो हो भने, स्वर्गदूतले गोठालाहरुलाई दिएको बालक येशू राखिएको डूँडÞको अलौकिक र अद्भुत चिन्ह अरु केही नभएर संसारको पाप उठाई लाने परमेश्वरको थुमा ख्रीष्टको बलिदानको वेदी क्रुस हो भन्ने कुरामा मलाई कुनै शंका छैन ! चाहे डूँड  ढुङ्गाको होस् या काठको होस दुवैले एउटै क्रूसको वेदीलाई संकेत गर्दछ ! ख्रीष्टमसको वेदी— डूँडÞमा पर्सिनुभएको ख्रीष्ट नै पापबलीको रूपमा क्रुसमा टाँगिनुभयो (रोमी ३ः२५, ८ः३) !  

ख्रीष्टमस वास्तवमै क्रूस र पुनरुत्थानको कथा हो ! क्रुस र पुनरुत्थान ख्रीष्टमसविना असम्भव हुन्छ भने क्रुस र पुनरुत्थानबिना ख्रीष्टमस अधुरो र अपुरो हुन्छ ! ख्रीष्टमस गुड फ्राइडे र ईस्टरको प्रारम्भ हो भने गुड फ्राइडे र ईस्टर ख्रीष्टमसको चरमोत्कर्ष हो ! यो ख्रीष्टको दुई स्वभावहरु, अर्थात् मानवत्व र ईश्वरत्व जस्तै भिन्न भएतापनि एक अर्काको परिपूरक र पारस्परिक भएर अनन्तको लागि एक व्यक्तिमा अविभाजित भएर क्रिसमसको बालक येशूको शरीरमा जोडियो ! 


- पाष्टर सुरज कासुला


No comments:

Post a Comment