रोचक प्रसङ्गः ख्रीष्टमस अमर, अविनाशी र अनन्त जीवनले मानव शरीर धारण गरेको कथा हो ।


 


आदम र हब्बाले अनाज्ञाकारीतामा असल र खरावको ज्ञान दिने रुखबाट खाएको कारण परमेश्वरले तिनीहरूलाई अदनको बगैंचाबाट मात्रै निकालिदिनुभएन, तर जीवनको रुखको फल खाएर अमर नहोस् भनेर त्यहाँ जाने बाटोमा दुई करुबहरु र चारैतिर घुमिरहने ज्‍वालामय तरवार पहरेदारको रूपमा राखिदिनुभयो ! त्यो जीवनको फल अमरत्व, अविनाशी, र अनन्त जीवनको फल थियो, जुन खाएको भए मानिस कहिल्यै मर्दैनथ्योः तब परमप्रभु परमेश्‍वरले भन्‍नुभयो, “मानिस हामीजस्‍तै असल र खराबको ज्ञान जान्‍ने भएको छ। अब त्‍यसले जीवनको रूखको फल पनि टिपेर खान नपाओस्, नत्रभने त्‍यो सधैँभरि जीवित रहला” (उत्पति ३;२२–२४) !   

रोचक के छ भने मानिसले अदनमा खान नपाएको जीवनको फल सबै मानव जातिलाई उपलब्ध हुने गरी मानव अवतारमा अवतरण हुनुभयो ! पहिलो आदममा जीवको फलको बाटो बन्द भयो, तर अन्तिम आदमले जीवनको फलको बाटो मात्रै खोलिदिनभएन, तर उहाँ स्वयम त्यो फलको अवतार भएर आउनुभयो ! त्यसैले, बेथहेलेमा प्रस्रिनुभएको बालक येशू नै जीवको फलको मूर्त रूप हुनुहुन्छः उहाँमा जीवन थियो, र त्‍यो जीवन मानिसहरूको ज्‍योति थियो । अनि वचन देहधारी हुनुभयो, र अनुग्रह र सत्‍यताले पूर्ण भई हाम्रा बीचमा वास गर्नुभयो। हामीले उहाँको महिमा देख्‍यौं, जुन महिमा पिताबाट आउनुभएको एकमात्र पुत्रको जस्‍तो थियो (यूहन्न्ना १ः४,१४) ! त्यही भएर प्रभु येशूलाई जीवनको रोटी (यूहन्न्ना ६ः३५), बाटो, सत्य, र जीवन (यूहन्न्ना १४ः६), पुनरुत्थान र जीवन (यूहन्न्ना ११ः२५) भनिएको हो ! 

यसलाई अझै प्रेरित पावलले २ तिमोथी १ः१० मा रोचक बनाइदिएका छ, जसलाई पावलको ख्रीष्टमस भन्दा पनि हुन्छः जुन अनुग्रह अब हाम्रा मुक्तिदाता ख्रीष्‍ट येशूको आगमनद्वारा प्रकट गर्नुभएको छ । उहाँले मृत्‍युलाई नाश गरेर जीवन र अविनाशलाई सुसमाचारद्वारा प्रकाशमा ल्‍याउनुभयो। यही कारणले गर्दा जतिले यो जीवनको फल खान्छन, अर्थात् येशू ख्रीष्टलाई विश्वास गर्छन् तिनीहरू अनन्त र अविनाशी जीवनको भागीदार हुन्छन् र कहिल्यै मर्दैनन् : येशूले तिनलाई भन्‍नुभयो, “पुनरुत्‍थान र जीवन म नै हुँ। मलाई विश्‍वास गर्ने मर्‍यो भने पनि जीवित हुनेछ । अनि जिउने र ममाथि विश्‍वास गर्ने प्रत्‍येक कहिल्‍यै मर्नेछैन । के तिमी यो विश्‍वास गर्‍छ्यौ?” (यूहन्न्ना ११ः२५–२६, यूहन्न्ना ५ः२४) 

ख्रीष्टमस अमर, अविनाशी र अनन्त जीवनले मानव शरीर धारण गरेको कथा हो । दुष्ट संसारलाई पाप र मृत्युको श्रापबाट छुटकारा दिएर पुनरुत्थान र जीवनमा सहभागी र समावेश गराउन नै ख्रीष्टमसमा जीवनदाता ख्रीष्ट जीवनको फल भएर जन्मनुभयो !


- पाष्टर सुरज कासुला

No comments:

Post a Comment