रोचक प्रसङ्गः ख्रीष्टमस अजम्वरी प्रधान पूजाहारीको जन्मको पनि कथा हो !






ख्रीष्टमस दाऊदवंशी राजाको जन्मको कथा मात्रै हैन, ख्रीष्टमस मोशा जस्तै अगमवक्ताको कथा मात्रै हैन, तर ख्रीष्टमस मल्‍कीसेदेकको दर्जा बमोजिम जन्मनुभएको अजम्वरी प्रधान पूजाहारीको जन्मको पनि कथा हो ! ख्रीष्टमसलाई प्रधान पूजाहारीको जन्मसँग सम्बन्धीत गर्ने एउटा रोचक प्रसङ्ग हिब्रु ५ मा यसरी लेखिएको छ : 

ख्रीष्‍टले पनि प्रधान पूजाहारी हुन आफैले आफैलाई उच्‍च पार्नुभएन, तर उहाँलाई यसो भन्‍नुहुनेबाट नियुक्त हुनुभयो, “तिमी मेरा पुत्र हौ, मैले नै आज तिमीलाई जन्‍माएको छु।” अर्को ठाउँमा पनि उहाँ भन्‍नुहुन्‍छ, “मल्‍कीसेदेकको दर्जाबमोजिम तिमी सधैँभरिको निम्‍ति पूजाहारी हौ ” (हिब्रु ५ः५–६) । 

यहाँ ईश्वरको पुत्रको जन्मलाई प्रधान पूजाहारीको जन्म भनिएको छ, जसले ईश्वर र मानव बीच शान्ति र मिलाप गराउनुका साथै मानवको पक्षबाट अनवरत मध्यस्तता, अन्तरबिन्ती, र पापको प्रायश्चित गरिदिन स्वर्गबाट बालक येशूको देहमा प्रधान पूजाहारीको रूपमा ईश्वर ख्रीष्टमसमा अवतरण हुनुभयो  ! 

पूजाहारीको अर्को प्रमुख जिम्मेवारी भनेको आराधकहरुको लागि मन्दिरको ढोका खोलीदिनु हो ! प्रधान पूजाहारी येशू ख्रीष्टको जन्मसँगै परमेश्वरलाई आत्मा र सत्यतामा आराधना गर्ने सच्चा आराधकहरुको निम्ति महापवित्रस्थानमा जाने ठाउँको पर्दा अर्थात् स्वर्गको ढोका खोलियो, किनभने येशू ख्रीष्ट नै स्वर्गको ढोका र भेडाको ढोका हुनुहुन्छ (युहन्ना ४ः२४;१४ः६; १०ः७–९) ! येशू ख्रीष्टबिना न प्राचिन अदनको बगैचाको बन्द भएको ढोका खोलिन्छ, न त स्वर्गको ढोका नै खोलिन्छ ! यही ढोका खोल्न नै येशू ईश्वरको मन्दिरको ढोका र ढोका खोलिदिने पूजाहारी भएर स्वर्गबाट मानव शरीरमा ओर्लि आउनुभयो ! 

अविनाशी पूजाहारी येशूको जन्मले स्वर्ग र पृथ्वीलाई एकै गरेर जोड्नुका साथै पृथ्वीबाट स्वर्गसमै पुग्ने भर्‍याङ भएर ईश्वर र मानव बिचको मध्यस्तकर्ता हुन कन्या कुमारीको गर्भबाट मानवको पुत्र भई जन्मनुभयो (युहन्ना १ः५०–५१; १ तीमोथी २ः५) ! 

त्यसैले, ख्रीष्टमस अविनाशी, अजम्बरी, र अनन्त प्रधान पूजाहारी, प्रेमी, प्रबल, र पराक्रमी राजा, अनि अद्वितीय, अतुलनीय र अलौकिक अगमवक्ताको जन्मको कथा हो ! पूजाहारी येशूमा र येशूद्वारा नै स्वर्गको ढोका खोलिन्छ अनि साँचो आराधकहरुले सत्य ईश्वरको दर्शन, दण्डवत् र साक्षात्कार गर्ने सौभाग्य पाउँछन् !


- पाष्टर सुरज कासुला

No comments:

Post a Comment